देशलाई विद्युतीय सवारीसाधनको युगमा लैजाने मन्त्री घिसिङको निर्णय

विराटनगर। नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा भएको पूर्वाधार क्षतिलाई तत्काल पुनर्निर्माण गर्ने र देशलाई विद्युतीय सवारीसाधनको युगमा प्रवेश गराउने निर्णय गरेका छन् ।

मन्त्री घिसिङले सोमबार पदभार ग्रहणका क्रममा विद्युतीय सवारीसाधनको प्रवर्द्धन र चुनौती समाधानका लागि सात दिनभित्रै कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गरेका छन् । कुलमानले विद्युतको खपत बढाउन भन्दै इन्धन सवारीलाई अब विद्युतीयमा कन्भर्ट गर्नुपर्ने र विद्युतको खपत बढाउने गरी पूर्वाधार बनाउनुपर्ने उनको भनाइ थियो ।

‘हामीसँग विद्युत छ । प्राविधिक र म्यानेजरियल समस्या होलान् । त्यसलाई समाधान गर्दै पेट्रोल, डिजल र ग्यासको इम्पोर्ट घटाउँदै लैजानुपर्छ । जसले आयात खर्च रोकिन्छ र विद्युतको खपत बढ्छ । त्यसले क्लाइमेट चेन्जमा ठुलो इम्प्याक्ट ल्याउँछ,’ मन्त्री घिसिङले भने, ‘सवारीसाधन र भान्छामा विद्युत प्रयोग गर्नासाथ धेरै कुरा समाधान हुन्छ । त्यसका लागि पूर्वाधार बनाउनुपर्छ ।’ मन्त्री घिसिङले सबै कुरा विद्युतबाट चलाउँदा देशलाई लाभ हुनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

दीर्घकालीन रूपमा उनले नेपाललाई पूर्णरूपमा विद्युतीय ऊर्जामा आधारित प्रणालीमा लैजाने महत्त्वाकांक्षी निर्णय गरे । ‘विद्युतीय सवारीसाधनको प्रयोगमा नेपाल विश्वमै टप कन्ट्रीमा पर्छ,’ मन्त्री घिसिङले भने, ‘अब सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, रेल, मेट्रो र सवारीसाधन विद्युतबाटै चलाउनुपर्छ ।’

यसले पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा बचाउनुका साथै सन् २०४५ सम्मको कार्बन न्युट्रल लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।

यस्तै मन्त्री घिसिङको पदभार ग्रहणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्री घिसिङलाई मन्त्रालयको संगठनात्मक संरचना र हालका प्रमुख चुनौतीहरूबारे विस्तृत जानकारी गराएका थिए । हाल जेनजीको प्रदर्शनका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रालय अन्तर्गतका संरचनामा पुगेको क्षति र सडक पूर्वाधारमा बाढी पहिरोका कारण पुगेको क्षति मन्त्रालयको सबैभन्दा चुनौतीपूर्ण विषय भएको जानकारी गराएका थिए ।

शर्माले २०८२ भदौ २३/२४ गते भएको जेनजीको आन्दोलनका क्रममा मन्त्रालय अन्तर्गतको सडक विभागको बबरमहलस्थित केन्द्रीय भवन पूर्णरूपमा क्षतिग्रस्त भएको, भक्तपुर, पोखरा, दाङ, विराटनगर लगायत जिल्लाका सडक विभागअन्तर्गतका सडक डिभिजन कार्यालयका भवन र सवारीसाधनमा पनि क्षति पुगेकोबारे जानकारी गराएका थिए । रेल विभागमा सामान्य क्षति पुगेको पनि जानकारी गराए ।

यस्तै बानेश्वर मीनभवनस्थित यातायात व्यवस्था विभागको आधा भवन कामै नलाग्ने गरी क्षतिग्रस्त भएको र लाइसेन्स छाप्ने मेशिन ड्यामेज हुनुका साथै सफ्टवेयरमा क्षति पुगेको र ५ लाख भन्दा बढी इम्बोस्ड नम्बर प्लेट जलेको जानकारी गराएका थिए । साथै, अब यातायात व्यवस्था विभागका सवारी लाइसेन्स उत्पादन र इम्बोस्ड नम्बर प्लेट जडान कार्यमा नयाँ चुनौती थपिएको समेत जानकारी गराएका थिए ।

यसैगरी गत असार २४ गते चीनतर्फबाट आएको बाढीका कारण चीन जोड्ने रसुवागढीको पुल भत्किएको जानकारी गराएका थिए । यस्तै साउन १८ गते पहिरोका कारण अरनिको राजमार्गको ११३ किलोमिटर सडक क्षति पुगेको तथा गत असोजको दोस्रो साता आएको बाढीका कारण बीपी राजमार्ग लगायतका थुप्रै सडक तथा पुलहरूमा क्षति भएको र पुनर्निर्माण गर्नुपर्ने चुनौतीबारे जानकारी गराएका थिए ।

नेपाल रेलवे कम्पनी र पूर्वाधार निर्माण कम्पनीमा प्रबन्धक पद रिक्त रहेको र नियुक्तिका लागि प्रक्रिया अघि बढाएको समेत जानकारी गराएका थिए ।

सचिव शर्माको ब्रिफिङपछि मन्त्री घिसिङले देश राजनीतिक र आर्थिक दुवै हिसाबले कठिन मोडमा रहेको र जनतामा व्यापक निराशा रहेको स्वीकार गरेका छन् । आफ्नो नियुक्तिलाई ‘ठुलो आन्दोलन र बलिदानको परिणाम’ भएको र ‘जनतालाई सेवा दिन’ आएको मन्त्री घिसिङको भनाइ थियो ।

मन्त्री घिसिङले तत्कालका लागि दसैँअघि नै बाढीले क्षतिग्रस्त सडक र पुलहरूको अस्थायी पुनर्निर्माण गरी यातायात सहज बनाउने घोषणा गरे । यसैगरी जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणमा जोड दिइने भन्दै उनले लाइसेन्स सफ्टवेयर र इम्बोस्ड नम्बर प्लेटको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका लागि आवश्यक ‘शर्ट टर्म प्रोक्युरमेन्ट प्रोसेस’ अपनाउन र ‘इन्स्ट्यान्ट रेस्पोन्स’ दिन निर्देशन दिँदै सात दिनभित्र कार्यदल गठन गरी प्रतिवेदन पेस गर्न लगाएका छन् ।

मन्त्री घिसिङले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सेवाप्रवाहलाई चुस्त बनाउनुपर्नेमा जोड दिँदै कर्मचारीहरूलाई २४ घण्टामा १८ घण्टा काम गर्न आग्रह गरे । उनले मन्त्रालयभित्रै सरसफाइजस्ता सामान्य काममा पनि ठेकेदारको भर नपरी आफैं अग्रसर हुन आग्रह गर्दै ‘एक्सन ओरिन्टेड’ भएर काम गर्न निर्देशन दिए ।