
इजरायल । इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणबाट इजरायलमा ६ जनाको मृत्यु भएको छ।

आइतबार बिहान उत्तरी सहर हाइफामा ५ जनाको ज्यान गएको इजरायली सुरक्षास्रोतले जनाएका छन्। त्यस्तै, तेल अभिभमा एक ६० वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरिएको छ। शनिबार राति पनि सोही क्षेत्रमा इरानी आक्रमणका कारण २० वर्षीया एक महिलाको ज्यान गएको थियो।
इरानी क्षेप्यास्त्र आक्रमणका कारण हालसम्म करिब ४१ जना घाइते भएका छन्। मध्य र उत्तरी इजरायलमा प्रहार गरिएका १०० भन्दा बढी क्षेप्यास्त्रका कारण भवन तथा सार्वजनिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको इजरायली सेना र राष्ट्रिय आपतकालीन सेवा ‘म्यागेन डेभिड एडोम’ (एमडीए) ले जानकारी दिएको छ।
जुडेयन फुटहिल क्षेत्रमा मात्र २४ जना घाइते भएका छन् भने अन्य क्षेत्रमा २० जना भन्दा बढी घाइते भएको जनाइएको छ।
इजरायल डिफेन्स फोर्स (आइडीएफ) ले जारी गरेको विज्ञप्तिमा केही समयअघि इजरायलले इरानको आणविक संरचनामा हमला गरेको पुष्टि गरिएको छ। त्यसको प्रतिक्रिया स्वरूप इरानले इजरायलमाथि निरन्तर क्षेप्यास्त्र आक्रमण गरिरहेको बताइएको छ।
आइडीएफले इजरायली जनतालाई सतर्क रहन र होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गरेको छ। उत्तरी तथा मध्य इजरायलमा सुरक्षाको उच्च सतर्कता जारी गरिएको छ।