त्रिदेशीय टी–२० शृंखला आजदेखि सुरु, नेपाल भोलि मैदानमा उत्रिने

विराटनगर । स्कटल्यान्डमा आयोजना हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आजदेखि सुरु हुँदैछ। शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

ग्लास्गोमा नेपाली समयअनुसार आज साँझ पौने ७ बजे खेल सुरु हुने छ। नेपालले भने भोलि सोमबार नेदरल्यान्ड्ससँग आफ्नो पहिलो खेल खेल्ने छ।

शृंखलाका लागि नेपाली टोलीमा केही नयाँ अनुहारहरू देखिएका छन्। रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका छन्। यता, तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलका क्रममा घाइते भएका कारण यस टी–२० शृंखला गुमाउने भएका छन्।

त्रिदेशीय शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्। यस शृंखलालाई आगामी टी–२० विश्वकपको तयारीका रूपमा लिइएको छ।