
विराटनगर।सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। संविधानको व्यवस्था अनुसार प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ। सोहीअनुसार सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले आज बजेट प्रस्तुत गर्न लागेका हुन्।

कोशी प्रदेश
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेटसहित आर्थिक विधेयक र विनियोजन विधेयक पेश गर्ने कार्यसूची रहेको छ। कोशी सरकारले गत वर्षको जस्तै ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।
मधेश प्रदेश
मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ। गत वर्ष मधेश प्रदेशले ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।
बागमती प्रदेश
बागमती प्रदेशले पनि दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमार्फत ६८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। अघिल्लो वर्ष बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड बराबरको रहेको थियो।
गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै बजेट ल्याउने तयारी गरेको छ। प्रदेशले गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। प्रदेश सरकारले यस वर्ष ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। अघिल्लो वर्ष ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको लुम्बिनी सरकारले यसपटक खर्च सीमित गर्ने संकेत देखाएको छ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले पनि अघिल्लो वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। गत वर्ष प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहका अनुसार प्रदेशले गत वर्ष ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो र यस वर्ष पनि त्यही सीमामा रहनेछ।