भिजिट भिसा प्रकरण: राप्रद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार

विराटनगर ।प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबारको प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ।

संसदमा जारी प्रतिपक्षी दलहरूको अवरोधको बाबजुद सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अघि बढाएपछि राप्रपाका सांसदहरू बैठक बहिष्कार गरी बाहिरिएका हुन्।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बैठकमै उठेर सत्तापक्षले दादागिरी देखाएको आरोप लगाए। उनले संसद अवरोध भइरहँदा बैठक सञ्चालन गर्नु असंसदीय अभ्यास भएको भन्दै असहमति जनाए।

‘संसदमा यसरी आन्दोलन भइरहँदा बैठक चलाउनु उचित होइन। यो दादागिरी बन्द गर्नुपर्छ,’ प्रमुख सचेतक शाहीले भने।

भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिन समिति गठन गर्नुपर्ने माग राखेको छ। यद्यपि राप्रपाले प्रत्यक्ष वेल घेरेर नाराबाजी भने गरेको छैन।

यसअघि शुक्रबार गृहमन्त्री लेखकले संसदमा जवाफ दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्ना सिटमै बसेको थियो।