विराटनगर । विराटनगर महानगरपालिका–४ दुधफार्म अगाडि शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाही घर भई हाल विराटनगर बस्दै आएका ३२ वर्षीय प्रदीपबहादुर भण्डारीको निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरगाछीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प २१९७ नम्बरको स्कुटरले बाटो काट्दै गरेको नम्बर नखुलेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किँदा स्कुटर चालक भण्डारी गम्भीर घाइते भएका थिए।
घाइते भण्डारीलाई तत्काल उपचारका लागि नोबेल अस्पताल लैजाने क्रममा मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ। मृतक भण्डारी सुन्दरहरैंचा–४ स्थित इटहरी इन्टरनेसनल कलेजमा कार्यरत रहेका थिए।
प्रहरीले दुर्घटनामा संलग्न सिटी सफारीको खोजीकार्य जारी राखेको छ।