काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएकी छन्।
आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगीता कौशल मिश्रा सिफारिस भएकी छन्। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियारको नाम सिफारिस गरिएको छ।
स्वास्थ्य मन्त्रीमा सिफारिस भएका डा. संगीता मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिइसकेकी छन्।
यसअघि उनी सचिव बन्ने दौडमा थिइन्। गत फागुन २२ को मन्त्रिपरिषद बैठकले उनलाई छाडेर डा. विकास देवकोटालाई सचिव नियुक्त गरेको थियो। वरिष्ठता मिचेर सचिव नियुक्त गरेपछि विवादित भएको थियो।
यसका लागि अतिरिक्त सचिवहरू डा. संगीता मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस भएको थियो। आफूभन्दा कनिष्ठलाई मन्त्रिपरिषदले स्वास्थ्य सचिव नियुक्त गरेकोमा डा. मिश्राले विभिन्न माध्यमबाट असन्तुष्टि जनाएकी थिइन्।
डा. मिश्र २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेर करिब एक वर्ष त्यहाँ काम गरेकी थिइन्। त्यसपछि उनी फुलब्राइट छात्रवृत्ति पाएर अमेरिका पढ्न गइन्। फेरि २०७० असोज १० गते खुलातर्फको प्रतिस्पर्धामा ११औं तहमा नाम निकालेर उनी स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन्।
उनले स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरेकी छन्। उनले कोभिड बेला कोशी अस्पतालमा गरेको काम र प्रसूति गृह प्रमुखका रूपमा गरेको कामको प्रशंसा हुने गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका महावीर पुन म्याग्दी जिल्लाको नाङी गाउँमा जन्मेका हुन्। उनले करिब १२ वर्ष शिक्षक भएर काम गरेका थिए। पछि अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट स्नातक तह पूरा गरे।
सन् १९९२ मा उनी नेपाल फर्के र आफ्नो गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काम सुरू गरे।
उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन्। उनले सन् २००७ मा रामोन म्याग्सेसे पुरस्कार पाएका थिए। साथै, नेपाल सरकारले उनलाई २०७९ सालमा एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो।
‘नवप्रवर्तनका अभियन्ता’ भनेर चिनिने अध्येता पुनले आफ्नो आत्मकथा ‘महावीर पुन’ पनि लेखेका छन्।
उद्योग तथा भूमिसुधार मन्त्रीमा सिफारिस भएका अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनले ६५ वर्षे उमेर हदका कारण २०८० कात्तिक १४ गते अवकाश पाएका थिए।
न्यायाधीश नियुक्त हुनुअघि उनी लामो समय वरिष्ठ अधिवक्ताका रूपमा वकालतमा सक्रिय थिए। उनी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिल मानिन्छन्।
करिब सात वर्ष सर्वोच्च अदालतमा न्यायाधीश रहँदा उनले गरेका केही संवैधानिक फैसलाहरू महत्त्वपूर्ण छन्।
केपी ओली सरकारले गरेको संसद विघटनको पहिलो निर्णय उल्ट्याउँदा संवैधानिक इजलासमा उनी पनि थिए। त्यति बेला न्यायाधीश सिन्हाले संसद पुनर्स्थापनाको पक्षमा मत हालेका थिए।
त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति विवादमा फैसला गर्नेमा पनि उनी थिए।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा सिफारिस भएका जगदीश खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। उनी इमेज टिभीमा समाचार प्रमुखका रूपमा कार्यरत छन्।
उनले लामो समयदेखि ‘हट सिट’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
दोलखा निवासी खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधि अध्ययन गर्दै छन्।
कृषिमन्त्रीमा सिफारिस भएका डा. मदन परियार समता फाउन्डेसनका अध्यक्ष हुन्।
वरिष्ठ जलवायु तथा कृषिविज्ञ डा. परियारले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरेका थिए।
उनी अध्यक्ष रहेको समता फाउन्डेसन २००९ मा स्थापना भएको हो। यसले जातीय भेदभावमुक्त समाज निर्माणमा काम गर्दै आएको छ। यो संस्था दलित तथा अन्य अल्पसंख्यक समुदायको अधिकार र समावेशीताका लागि अनुसन्धान, नीति निर्माण, मानवअधिकार र नेतृत्व विकासका क्षेत्रमा सक्रिय छ।
सप्तरीका परियारले उदयपुर सिमेन्ट र कृषि औजार काराखाना वीरगन्जको महाप्रबन्धकका रूपमा पनि काम गरेका थिए।
उनी दलित समुदायबाट पिएचडी गर्ने पहिलो व्यक्ति हुन्। जलवायु परिवर्तन क्षेत्रमा पनि लामो समय काम गरे।