कोशी प्रदेश सरकारले ३५ अर्ब ८७ करोडको बजेट ल्यायो, पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकता

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ को तुलनामा १.७ प्रतिशतले र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले वृद्धि भएको जानकारी दिए।

बजेटमा चालु खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत), पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ १० करोड (०.३ प्रतिशत) विनियोजन गरिएको छ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ७० करोड ७२ लाख छुट्याइएको छ।

आय स्रोत

प्रस्तावित बजेट खर्च व्यहोर्ने मुख्य स्रोतहरूमा प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत १२ अर्ब ३९ करोड ६० लाख, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख र रोयल्टीबाट ३५ करोड ६ लाख रहने मन्त्री मगरले जानकारी दिए। बाँकी ३ अर्ब १३ करोड रुपैयाँ नगद मौज्दातबाट खर्च हुनेछ।

खर्चको प्रमुख क्षेत्रहरू

आगामी वर्षको बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि तथा उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान तथा सामाजिक क्षेत्रतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख र शान्ति सुरक्षातर्फ ९६ करोड विनियोजन गरिएको छ।

मन्त्री मगरले प्रस्तुत गरेको बजेटमा प्रदेशको समावेशी, दिगो र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ।