सुनसरीकाे विभिन्न स्थानबाट एकैदिन भव्य कलश यात्रा सम्पन्न

आगामी महान चाड बडा दशैंकाे शुभारम्भकाे दिन मानिने घटस्थापनाकाे अवसरमा सुनसरी जिल्लाका विभिन्न स्थानबाट एकैदिन भव्य कलश यात्रा सम्पन्न भएकाे छ ।

देवानगञ्ज गाउँपालिका वडा नं–१ मध्यहर्षाही दुर्गा मन्दिर, वडा नं–७ रा.सि, बर्जु गाउँपालिका वडा नं–६ चिमडी र हरिनगर गाउँपालिका वडा नं–५ बसन्तपुरसहित जम्मा छ वटा स्थानबाट कलश यात्राहरू एकसाथ निकालिएका हुन् । यस भव्य यात्रामा पाँच हजारभन्दा बढी भक्तजनहरूको सहभागिता रहेकाे थियो ।

कलश यात्रामा मौलिक झाँकी, धार्मिक भजन–कीर्तन तथा परम्परागत वाद्यवादनका साथ श्रद्धालुहरूले कलश बोकेर यात्रा गरेका थिए । कलश यात्रीहरू उपवास रहेकाे अवस्थामा हरिनगर बजारदेखि करिब पाँच किलोमिटर दुरीमा अवस्थित चन्दनमोहन (बुढीखोला) सम्म पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै कलशमा जल भरी पुनः मन्दिरमा राखिएको थियो ।

मध्यहर्षाही दुर्गा मन्दिरबाट मात्र ३०५ जना, देवानगञ्ज वडा नं–७ बाट ३५० जना, चिमडी (बर्जु–६) बाट एक हजार जना र बसन्तपुर (हरिनगर–५) बाट ४०० जना भक्तजन सहभागी भएका थिए । बसन्तपुरबाट नजिकैको मोरिया खोलामा गएर जल भरेर मन्दिर ल्याइएको जनाइएको छ ।

हिन्दू धर्ममा दुर्गा पूजालाई असत्यमाथि सत्यको विजय र शक्ति, भक्ति तथा आस्थाको प्रतीकका रूपमा लिइन्छ । घटस्थापनाकाे दिन घर–घरमा जमरा राख्ने तथा देवीकाे शक्तिको आह्वान गर्ने परम्परा रहिआएको छ । कलशलाई शुद्धता, समृद्धि र धार्मिक आस्थाकाे प्रतिकका रूपमा मानिने गरिन्छ ।

कलश यात्रामार्फत भक्तजनहरूले सामूहिक रूपमा एकताबद्ध भई देवीप्रति श्रद्धा अर्पण गर्ने परम्परा जोगाइराखेका हुन्छन् । यसरी ठूलो संख्यामा भक्तहरूको सहभागितासहित सम्पन्न कलश यात्राले सामाजिक एकता, धार्मिक सद्भाव र सांस्कृतिक परम्परालाई अझ सबल बनाएको स्थानीयहरूले बताएका छन् ।

हिन्दू