
विराटनगर। नृत्य निर्देशक संघ नेपाल, मोरङ–बिराटनगर शाखाको आयोजनामा आयोजित दुई दिने पूर्वेली सांस्कृतिक नाचहरूको कार्यशाला बिराटनगरमा सम्पन्न भएको छ। बिराटनगर–१०, न्युरो अस्पताल छेउमा अवस्थित बिराट जागृति कला केन्द्रमा असार ३० र ३१ गते सम्पन्न कार्यशालामा ५० जना भन्दा बढी नृत्य विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यशालामा वरिष्ठ नृत्य निर्देशक तथा लोकनृत्य अनुसन्धानकर्ता नगेन्द्र राईले प्रशिक्षण दिएका थिए। उनले पूर्वी नेपालमा प्रचलित मौलिक नृत्यहरूको संरचना, लय–ताल र प्रस्तुतिकरण विधिबारे सहभागीहरूलाई सैद्धान्तिक र प्रयोगात्मक दुवै रुपमा मार्गदर्शन गरेका थिए।कार्यशालामा बिराटनगरका चर्चित हिप हप् डान्सरहरूको पनि उपस्थिति रहेको थियो। समकालीन र परम्परागत नृत्यबीचको अन्तरसम्बन्धलाई अनुभव गर्न पाउनु सहभागीहरूको लागि विशेष अवसर बनेको थियो।
कार्यशालाका संयोजक तथा नृत्य निर्देशक संघ नेपाल, बिराटनगर शाखाका उपाध्यक्ष घलेन्द्र मगरले कार्यशालाको मूल उद्देश्यबारे जानकारी दिँदै भने, “युवाहरूमाझ मौलिक नेपाली नाचप्रति रुचि जगाउँदै उनीहरूको सीप र सांस्कृतिक चेतनाको विकास गर्नु नै हाम्रो प्राथमिकता हो।”
त्यस्तै, कार्यशालाका प्रशिक्षक नगेन्द्र राईले लोकनृत्यको अनुसन्धान र त्यसको प्रायोगिक अभ्यासबीचको सम्बन्धलाई जोड दिँदै सहभागीहरूलाई नृत्यको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिसमेत बुझाउने प्रयास गरेका थिए।कार्यशालामा विशेष उपस्थिति जनाएकी संघकी अध्यक्ष समिक्षा कार्कीले भने, “हामी मौलिकताको जगेर्ना र नयाँ पुस्ताको सशक्तीकरणलाई एउटै मञ्चमा ल्याउन चाहन्छौं। यस कार्यशालाले त्यो उद्देश्यतर्फको ठोस पाइला टेकेको छ।”
दुई दिनसम्म चलेको यो सांस्कृतिक नृत्य कार्यशालाको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजक संस्थाले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।