मोरङ जहदा गाउँपालिका वडा नम्बर ३ मा सञ्चालन हुँदै आएको “उच्च शिक्षामा छोरीको पहुँच अभियान” कार्यक्रम अन्तर्गत यस वर्ष पनि १५ जना छात्राले स्नातक तहमा अध्ययन गर्न आवश्यक शैक्षिक सामग्री निःशुल्क प्राप्त गरेका छन्।वडाध्यक्ष अनिल कुमार ठाकुरको उपस्थितिमा सम्पन्न कार्यक्रममा छात्राहरूलाई पाठ्यपुस्तक, कापी, लेखन सामग्री लगायत अध्ययनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो। वडाध्यक्ष ठाकुरका अनुसार, आर्थिक कठिनाइका कारण धेरै छात्रा उच्च शिक्षाबाट वञ्चित हुने अवस्था देखिएपछि यो अभियान अघि सारिएको हो। “प्रत्येक वर्ष १५ छात्रालाई लक्षित गरी सामग्री वितरण मात्र नभई सरकारी क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क पनि वडा कार्यालयले व्यहोर्दै आएको छ। यसले छोरीहरूको पढाइलाई निरन्तरता दिन ठूलो टेवा पुगेको छ,” उनले बताए।वडाबाट सहयोग पाउने छात्रा मध्ये एकले भनिन्, “यो सहयोगले आर्थिक चिन्ता कम भयो, अब म पढाइमा अझ बढी ध्यान दिन सक्छु।” उनका अभिभावकले पनि वडाले सुरु गरेको कार्यक्रमले गाउँमा छोरी शिक्षाबारे सकारात्मक चेतना बढाएको उल्लेख गरे। यस अभियानले ग्रामीण समुदायमा उच्च शिक्षामा पहुँच विस्तार गर्ने काम गरेको छ। आर्थिक अभावका कारण अध्ययन रोकिने अवस्थालाई कम गर्न कार्यक्रम प्रभावकारी देखिएको छ। अभिभावक र विद्यार्थी दुबैको प्रतिक्रिया अनुसार, यसले गाउँमा “छोरी पढाउनुपर्छ” भन्ने सोचलाई अझ बलियो बनाएको छ। जहदा–३ को “उच्च शिक्षामा छोरीको पहुँच अभियान”कार्यक्रम स्थानीय तहमा महिला शिक्षाको क्षेत्रमा उदाहरणीय अभ्यासका रूपमा अगाडि बढिरहेको छ। निरन्तरता र पारदर्शितासहित यसलाई दीर्घकालीन बनाइएमा यो नमूना योजना अन्य वडामा पनि अनुकरणीय बन्न सक्ने देखिन्छ।
