
विराटनगर । इलाम नगरपालिका–११ स्थित सोयाक–आले सडक खण्डमा आइतबार साँझ पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा देउमाई नगरपालिका–९ का ३८ वर्षीय व्यवसायी विष्णु पराजुलीको ज्यान गएको इलाम प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा पराजुलीकी ८ वर्षीया छोरी प्रेयसा पराजुली र सोही नगरपालिका–९ जितपुरका २२ वर्षीय चालक आइतबहादुर लिम्बू रहेका छन्। उनीहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
प्रदेश १–०१–००१ च ९७७८ नम्बरको पिकअप गाडी सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको इलाम प्रहरीको भनाइ छ।