बिराटनगर- वेस्टइन्डिज विरुद्ध नेपालले एतिहासिक जित हासिल गरेको छ। बहुप्रतिक्षित युनिटी टी-२० सिरिज अन्तर्गत तीन खेलको सिरिजको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो। नेपालले कुनैपनि टेस्ट टोलीलाई कुनैपनि फर्म्याटमा हराएको यो पहिलो पटक हो।
खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले वेस्टइन्डिज समक्ष १ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा वेस्टइन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनमा समेटियो।
त्यसअघि नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनायो। युएइको सारजाहामा भएको खेलमा नेपाल बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट लयमा देखियो।
नेपालका लागि कप्तान रोहित पौडेलले ३८ रन बनाउँदा कुशल मल्लले ३० तथा गुल्सन झाले २२ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले १७ रनको इनिङ खेले। वेस्टइन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिंदा नभिन बिडाइसेले ३ विकेट लिए। त्यस्तै अकिल होसेनले १ विकेट लिए।
१ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज सुरुवातबाटै दबाबमा परेको थियोद। उसका लागि नभिन बिडाइसेले २२ रन बनाउँदा एकिम अगस्टले १५ रन बनाएका थिए। त्यस्तै अमिर जाँगोले १९ रन बनाउँदा फाविन एलन १९ रन बनाए। त्यस्तै कप्तान अकिल होसेन १८ रन बनाएर आउट भए।
नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिंदा रोहित पौडेल, ललित राजवंशी, नन्दन यादव, करण केसी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए। दुइ पटकको विश्व विजेता वेस्टइन्डिज विरुद्ध नेपालले बाँकी दुइ खेलमा १३ असोजमा दोस्रो तथा १४ असोजमा तेस्रो टी-२० मा प्रतिस्पर्धा गर्ने छ।
