कविन राई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्

विराटनगर, असोज १२ :  कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” उपाधि मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई प्रदान गरेको छ।राईले विभागीय आदेश–निर्देशन पालना गर्दै उच्च मनोबल, साहस र जिम्मेवारीका साथ अपराध नियन्त्रणमा देखाएको सक्रियता र उपलब्धिलाई आधार मानेर यो सम्मान प्रदान गरिएको हो।भदौ २८ गते विराटनगर महानगरपालिका–१५ मा भएको विशेष चेकिङमा निरीक्षक राईको टोलीले मे.१ च ५८२६ नम्बरको बोलेरो गाडीभित्र बन्दाकोपीमा लुकाइएका २ सय ६२ किलो ५८० ग्राम गाँजा बरामद गरी संलग्न ३ जनालाई नियन्त्रणमा लिएको थियो।विराटनगरका विभिन्न स्थानबाट चोरी भएका ११ थान ल्यापटप, मोटरसाइकल, अटो टेम्पो, स्कुटर, ब्याट्री, इनभर्टर, सोफा, फ्रिज, एसी, ओभन, पंखा र इन्डक्सन चुलो बरामद गरी सम्बन्धित धनीलाई बुझाइयो। यस कदमले समुदायमा प्रहरीप्रतिको विश्वास झनै मजबुत भएको छ।लागू औषध नियन्त्रण ब्युरोसँगको सहकार्यमा विराटनगर–१३ र १५ बाट ३ सय ३७ ग्राम ब्राउनसुगरसहित ३ जना पक्राउ गरियो। यस कारबाहीलाई प्रदेशकै उल्लेखनीय उपलब्धि मानिएको छ।प्रहरी स्रोतका अनुसार, निरीक्षक राईको नेतृत्वमा भएको यी कारबाहीहरूले मोरङ मात्र नभई सम्पूर्ण प्रदेशमै अपराध नियन्त्रणमा सकारात्मक सन्देश दिएको छ। विभागीय मापदण्डअनुसार कार्य सम्पादन गर्नेदेखि अपराध नियन्त्रणमा देखाएको नेतृत्व क्षमताले उनलाई उदाहरणीय प्रहरीका रूपमा स्थापित गरेको छ।