इलाममा सुन–चाँदीको जलप लगाएका गहनासहित दुई भारतीय पक्राउ

विराटनगर। इलामको सूर्याेदय नगरपालिका–२ चारमाइलबाट सुन र चाँदीको जलप लगाएका गहनासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको हिमाचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन्।

प्रहरीका अनुसार भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्दा झोलामा १७ किलो ४०० ग्राम चाँदी र सुनको जलप लगाइएको ५ किलो गहना फेला परेको हो। बरामद गरिएका गहनाको अनुमानित मूल्य ३२ लाख ६९ हजार ५५७ रूपैयाँ बराबर रहेको बताइएको छ।

गहनाको परीक्षण गर्दा ती सबैमा सुन–चाँदीको जलप लगाइएको पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय पशुपतिनगर, इलाममा बुझाइएको छ।