कोशीमा मध्यमदेखि भारी वर्षाको सम्भावना

विराटनगर / देशभर मनसुनी र स्थानीय वायुको प्रभाव जारी रहेकाले बिहीबार (असोज १५) अधिकांश स्थानमा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विशेषगरी कोशी प्रदेशमा मध्यम वर्षाको उच्च सम्भावना रहेको विभागले जनाएको छ । प्रदेशका पहाडी तथा तराई भू–भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ । साथै, प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने प्रक्षेपण गरिएको छ ।

विभागका अनुसार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा समेत मध्यम वर्षा हुने देखिएको छ । मधेस प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ ।

राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ । यस अवधिमा समेत कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा मध्यम वर्षा र कोशी–गण्डकीका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने विभागले जनाएको छ ।

मौसमविद्हरूले वर्षासँगै चट्याङ र आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सावधानी अपनाउन प्रदेशवासीलाई आग्रह गरेका छन् ।