केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनीहरुको पारिवारिक सदस्यहरुको समेत सम्पत्ति विवरण झिकाएर अनुसन्धान थालेको हो।

२१ असोज, काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रमुख तीन दलका शिर्ष नेता र नातेदारहरुको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ।

विभागले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनीहरूको पारिवारिक सदस्यहरुको समेत सम्पत्ति विवरण झिकाएर अनुसन्धान थालेको हो।

‘उहाँहरू, नातेदार र आफन्तहरुको नाममा कहाँ-कहाँ चल/अचल सम्पत्ति छ, शेयरहरू कति छन्, के-कस्तो कारोवार रहेछ भनेर सरोकारवाला निकायहरुलाई पत्राचार गरेर झिकाउने काम भएको छ’ विभागसम्वद्ध स्रोतले भन्यो, ‘यसअघि नै माग भएका छिटफुट विवरण आउने क्रममा छन्, केहीका लागि मंगलबार मात्रै पत्राचारहरू भएको हो।’

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आगजनीबाट क्षतिग्रस्त तीन दलकै नेताहरुको घर तथा निवासमा गएर स्थलगत खानतलासी गर्नुका साथै जलेका पैसाहरुको मुचुल्का गरेको थियो। त्यसक्रममा सार्वजनिक रुपमा उपलब्ध भिडियोहरुको डिजिटल फरेन्सिक परीक्षणका लागि प्रहरीको ल्याबमा पठाउने काम भइसकेको छ।