झापाको मानव सेवा आश्रममा एक वर्षभित्र ११ जनाको मृत्यु

असोज २६, बिर्तामोड
झापाको मेचीनगर–४ मा सञ्चालनमा रहेको मानव सेवा आश्रममा आश्रित ११ जनाको एक वर्षको अवधिमा मृत्यु भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, पछिल्लो एक वर्षयता विभिन्न कारणले आश्रममा बसोबास गर्दै आएका ती व्यक्तिहरूको ज्यान गएको हो।
सबैभन्दा पछिल्लो घटना अनुसार, शिवसताक्षी नगरपालिकाले उद्धार गरी आश्रममा पठाएकी ५३ वर्षीया आश्रफुल मुस्लिमको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, उनी आश्रममा सुतिरहेको अवस्थामा मृत फेला परेकी थिइन्। असोज २० गते शिवसताक्षी नगरपालिकाले उद्धार गरी उनलाई सो आश्रममा पठाइएको थियो।
यसअघि पनि आश्रममा आश्रित विभिन्न व्यक्तिहरूको क्रमिक मृत्यु हुँदै आएको प्रहरीले जनाएको छ। मृत्युका कारणबारे अहिले अनुसन्धान भइरहेको र मृतकहरूको स्वास्थ्य अवस्थासम्बन्धी विवरण संकलनको काम भइरहेको प्रहरीले जानकारी दिएको छ।
यसैबीच, झापाकै दमक नगरपालिका–२ मा अवस्थित मानव उद्धार सेवा आश्रमबाट एक आमा र उनकी छोरी फरार भएको समाचार प्राप्त भएको छ। हिजो दिउँसो करिब २ बजे इलाम फुयतप्पा घर बताउने ३४ वर्षीया डिल्लीमाया लिम्बू र उनकी दुई वर्षीया छोरी आश्रमबाट फरार भएका हुन्।
अघिल्लो दिन दमक–९ क्याम्पसमोड क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेपछि दमक नगर प्रहरीले उनीहरूलाई उद्धार गरी मानव उद्धार सेवा आश्रममा राखेको थियो। तर, सोही आश्रममा राखिएको भोलिपल्टै उनीहरू फरार भएको प्रहरीले जनाएको छ।