मोरङमा महिलाद्वारा पुरुषको संवेदनशील अंगमा प्रहार

बिराटनगर  — मोरङको कटहरी गाउँपालिका–३ मा एक महिलाले पुरुषको संवेदनशील अंगमा धारिलो हतियारले प्रहार गरेकी छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ३२ वर्षीय कामत थरका पुरुष सोमबार बेलुका भेट्न पुगेकी महिलाबाट आक्रमणमा परेका हुन्। गम्भीर घाइते भएका ती पुरुषलाई सुरुवातमा विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। संवेदनशील भागमा गहिरो चोट लागेकाले उनलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरिएको छ, जहाँ अहिले आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आक्रमण गर्ने महिला कटहरीमै कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। पुरुष त्यहाँ विगतदेखि भेट गर्न जाने गरेको खुलेको छ। सोमबार पनि उनी महिलाको डेरामा पुगेका बेला विवाद भएपछि घटनाको उत्पत्ति भएको बताइएको छ। विवादकै क्रममा महिलाले डेरामा रहेको धारिलो हतियार (दाउ) प्रयोग गरी आक्रमण गरेकी थिइन्।
आक्रमणपछि महिला स्वयं पनि बेहोस भएकी थिइन् र उनलाई पनि अस्पताल भर्ना गरिएको थियो। होस खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जनाएको छ।