विराटनगर, असोज २८ गते
सुनसरी र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रहरीले तीन जनालाई प्रतिबन्धित लागू औषधसहित नियन्त्रणमा लिएको छ।
सुनसरीमा असोज २७ गते साँझ अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले प्र.१-०५-००१ ह ०१४७ नम्बरको अटोमा सवार उदयपुर त्रियुगा–७ का १९ वर्षीय दिपक मगरको झोलाबाट ट्रामाडोल ३,९९० ट्याब्लेट र डिकोलिक ३,९९० ट्याब्लेट फेला पारेको हो। अटो चालक त्रियुगा–१० का ३३ वर्षीय फिरोज मोहमदलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१६ बाट ५६ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर–११ की २८ वर्षीया रन्जिता राय अमातलाई पक्राउ गरेको छ।
यसैबीच, मोरङकै इलाका प्रहरी कार्यालय बुधनगरले विराटनगर–१८ स्थित ICP सडक खण्डमा प्र.१-०२-००४ ह ८२७० नम्बरको सिटिसफारीमा बेवारिसे अवस्थामा राखिएको ३० किलोग्राम गाँजा बरामद गरेको छ। सिटिसफारी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।