मोटरसाइकल दुर्घटनामा परी  महिलाको मृत्यु

विराटनगर। सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।

असार ३ गते दिउँसो साढे ३ बजे प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकलमा सवार ४५ वर्षीया हिरा मेघा गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामै उनलाई उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक धनकुटा पाख्रिबास नगरपालिका–४ स्थायी घर भई हाल इटहरी–१ बसोबास गर्दै आएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ भने सामान्य सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

घटनाको कारण र विस्तृत विवरणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।