विराटनगरबाट धनकुटाको जितपुर गएको बस दुर्घटना, दुईजनाको मृत्यु

बिराटनगर/ विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकाअन्तर्गत जितपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस आज धनकुटाको निगालेमा दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

धनकुटा जिल्ला प्रहरी कार्यालयका अनुसार को १ ख २७८५ नम्बरको बस बिहान साढे ९ बजेतिर अनियन्त्रित भई सडकबाट झरेको हो । दुर्घटनामा धनकुटा महालक्ष्मी–६ की ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी–९ का ६० वर्षीय डिल्लीराम बरालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बसमा २० जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरीलाई प्राप्त भएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ ।