नेपाल द्वारा ओमानलाइ १ सय ५२ रनको लक्ष्य

२९ असोज बिराटनगर । ओपनर कुशल भुर्तेलले संयमित अर्धशतक बनाएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा ओमानलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाउँदै १५२ रनको लक्ष्य दिएको हो । भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

राम्रो सुरुवात गर्दै पावरप्लेमा ५३ रन जोड्दा कुनैपनि विकेट नगुमाएको नेपालले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाएको थियो ।

ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २-२ विकेट लिए ।

छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् ।

नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हरायो ।