मोरङ –
असोज १७ र १८ गते परेको आरी घोप्टे वर्षासँगै आएको बाढी–पहिरोले कोशी प्रदेशको कृषि बाली क्षेत्रमा ठूलो क्षति पुगेको छ।
विराटनगरस्थित कृषि विकास निर्देशनालयका अनुसार दुईदिनको प्राकृतिक विपद्का क्रममा तराई क्षेत्र र मध्य पहाडी क्षेत्रमा करिब ३४ करोड रुपैया बढिको कृषिबालीमा क्षति भएको छ।
२ हजार २ सय ७३ जना कृषकको बालीमा क्षति पुगेको जनाउँदै निर्देशनालयले प्रदेशको १२ जिल्लामा १ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमा लगाइएको ६ हजार २ यस ३४ दशमलव ६२ मेट्रिक टन कृषि बालीमा क्षति पुगेको प्रस्टाएको छ। निर्देशनालयका वरिष्ठ बागवानी विकास अधिकृत टोनी बर्देवाले सो समय सबैभन्दा बढि इलाम जिल्लामा कृषि बालीमा क्षति पुगेको जानकारी दिए।
वर्देवाका अनुसार इलाममा गएको पहिरो र बाढीका कारण १ हजार १ सय ६३ जना कृषिको बाली नष्ट भएको छ। ३ सय ८२ दशमलव ४ हेक्टर क्षेत्रफलमा लगाएको १ हजार ९ सय २९ दशमलव १८ मेट्रिक टन बालीमा क्षति पुगेको उनको भनाई छ। निर्देशनालयले प्राप्त गरेको जानकारी अनुसार सो जिल्लामा करिब १३ करोड १३ लाख रुपैया बढिको बालीमा क्षति पुगेको उनले बताए।
उनले भने, ‘इलाममा पहिरो र बाढीबाट ३ सय ३४ दशमलव ३ हेक्टरमा लगाइएको ७ करोड ९४ लाख रुपैया बढिको धानबालीमा क्षति पुगेको छ। त्यसैगरि, २३ दशमलव ९४ हेक्टर क्षेत्रफलमा लगाइएको १७ मेट्रिक टन अलैची खेतीमा समेत क्षति पुगेको छ। जुन करिब ३ करोड २७ लाख रुपैया बढि हुन आउँछन्।’
इलाममा करिब १४ हेक्टर क्षेत्रफलमा लगाइएको चिया खेतीमा समेत क्षति पुगेको बताएका बर्देवाले ३ करोड २७ लाख रुपैया बढिको क्षति पुगेको बताए। यसैगरि, करिब ७३ मेट्रिक टन अदुवामा समेत बाढी पहिरोले क्षति पुराएको छ।
त्यसैगरि, झापामा ९ करोड ६५ लाख रुपैया बढिको कृषिबालीमा क्षति पुगेको निर्देशनालयले जनाएको छ। ३ सय ४३ जना कृषकले लगाएको बालीमा क्षति पुगेको जनाएको निर्देशनालका अनुसार झापामा १ हजार ९ सय २९ मेट्रिक टन कृषिबालीमा क्षति पुगेको छ। झापामा धान र केरा खेतीमा बढि असर पुगेको छ। ५ सय १२ हेक्टर क्षेत्रफलमा लगाइएको करिब १ हजार ७ सय ७१ मेट्रिक टन धान खेतीमा असर परेको छ। निर्देशनालयका अनुसार यसक्रममा करिब ७६ लाख रुपैया बराबरको क्षति भएको छ। त्यसैगरि, दुई दिनको वर्षाले झापामा लगाइएको केरा खेतीमध्ये ६९ हजार केराको बोटमा क्षति पुगेको छ। २२ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेतीमा १२ लाख ५९ हजार रुपैया बढिको क्षति पुगेको छ।
मोरङमा भने ३६ जना कृषकको खेतिमा असर गरेको जनाउँदै निर्देशनालयले ४९ लाख ३५ हजार रुपैया बराबरको क्षति भएको छ। मोरङमा १२ हेक्टर क्षेत्रफलमा लगाइएको करिब १३ लाख ८० हजार रुपैया बराबरको धान डुबानमा पुरिएको छ।
सुनसरीमा भने धान, तरकारी, उखु, र सयपत्री फुलको खेतीमा धेरै क्षति पुगेको छ। निर्देशनालयका अनुसार सुनसरीको विभिन्न पालिकास्थित ५२ हेक्टर क्षेत्रफलमा लगाइएको ७ सय ७ मेट्रिक टन तरकारीमा बाढीले क्षति पुराएको छ।
पूर्ण रुपमा डुबान भएको अवस्थामा तरकारीसंगै ४८ हेक्टर क्षेत्रफलमा लगाइएको २ सय १८ मेट्रिक टन धान समेत नष्ट भएको निर्देशनालयले जनाएको छ। दुईदिनको प्राकृतिक विपद्मा संखुवासभा र ताप्लेजुङमा क्षति नभएको निर्देशनालयले जनाएको छ। यसक्रममा धानतर्फ समग्र १२ जिल्लामा १ हजार १ सय ७१ हेक्टर क्षेत्रफलमा लगाइएको ४ हजार २ सय ७६ दशमलव ५३ मेट्रिक टन बालीमा क्षति पुगेको हो। दुईदिनको वर्षाले १८ करोड २७ लाख रुपैया बढिको धानखेतीमा क्षति पुगेको छ।