विराटनगर, मोरङ — मोरङ प्रहरीले विराटनगरबाट स्रोत नखुलेको साढे आठ लाख रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो इलाका प्रहरी कार्यालय रानीको टोलीले महानगरपालिका–१२, सैनिक टोलमा गरिएको चेकजाँचका क्रममा उक्त रकम फेला पारेको हो।
प्रहरीले मोरङको जहदा गाउँपालिका–स्थित ४६ वर्षीय नविन साहलाई नियन्त्रणमा लिएको छ। साह भारतीय सीमा जोगबनीबाट विराटनगरतर्फ बीआर ३८ भी ३३२८ नम्बरको मोटरसाइकलमा आउँदै थिए। शंकाको आधारमा रोकेर गरिएको तलासीका क्रममा उनले लगाएको हेलमेटभित्र रकम लुकाएर ल्याएको प्रहरीले पत्ता लगाएको हो।
बरामद रकममा एक हजार दरका ८ सय, पाँच सय दरका ५१, एक सय दरका १ सय ४६ र पचास दरका १ सय २ थान नेपाली नोटहरू रहेको प्रहरीले जनाएको छ।
मोरङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कविता कटवालका अनुसार मोटरसाइकलसहित रकम र साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ। बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छl