विराटनगर, कार्तिक ३ ।
सुनसरीका विभिन्न स्थानमा प्रहरीले छापा मार्दै प्रतिबन्धित लागू औषधसहित सात जनालाई नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) र ईलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले सोमबार दिउँसो रामधुनी नगरपालिका–७ का २९ वर्षीय सुमन चौधरीलाई आफ्नै घरमा ब्राउन सुगर बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरेको हो। चौधरीको कोठाबाट ५ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। सो कारोबारमा संलग्न धरान–१७ का ३३ वर्षीय सुमन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको संयुक्त टोलीले कार्तिक २ गते छुट्टाछुट्टै स्थानमा छापा मार्दै पाँच जनालाई पक्राउ गरेको छ। इनरुवा–४ बाट इटहरी–१८ का ३४ वर्षीय राजु चौधरी र रामधुनी–४ का २८ वर्षीय रोशन हरिजनलाई १९ ग्राम ६९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै, धरान–११ बाट सोही स्थानका विकास परियार र विजय परियार, तथा धरान–१७ का ३६ वर्षीय इन्द्र राईलाई डिकोलिक ५०० पिस र ट्रामोल ५०० पिस प्रतिबन्धित लागू औषधसहित नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।