विराटनगर । हमास इजरायल युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित महाकाली नदि किनारमा अन्त्येष्टि गरिने भएको छ ।
विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरी राष्ट्रिय सम्मानसहित धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवमं प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए ।
इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।