बिराटनगर कार्तिक ७— मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंग्याउने उद्देश्यले आज सत्तारूढ पाँच दलको संयुक्त बैठक बस्दैछ। बैठक बिहान ११ बजेदेखि रौतहटको चन्द्रनिगाहपुरमा सुरु हुने कार्यक्रम छ। बैठकमा जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू सहभागी हुनेछन्। स्रोतका अनुसार बैठकमा सरकार विस्तार, मन्त्रालयको बाँडफाँट, सरकारको कार्यादेश (टिओआर) र विश्वासको मत लिने प्रक्रियासहितका विषयमा छलफल हुनेछ। साथै, बैठकले हालै जनमत पार्टीबाट फुटेको जनस्वराज पार्टी र नागरिक उन्मुक्ति पार्टी लाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल गर्ने बताइएको छ। गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। उनले त्यसको भोलिपल्ट असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएर जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल लाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए। तर, सत्तारूढ दलबीच मन्त्रालय बाँडफाँटमा सहमति नजुटेकाले एक साताभन्दा बढी बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। बिना विभागीय मन्त्रीहरूलाई समेत अहिलेसम्म जिम्मेवारी तोकिएको छैन। आजको बैठकले मन्त्रालय बाँडफाँट र सरकार सञ्चालनको प्रारूपमा सहमति जुटाउने अपेक्षा गरिएको छ।