रंगेली । किसानमुखी एजेन्डासहित रंगेली–७ बाट वडासदस्यमा उम्मेदवारी मोरङ, रंगेली। मोरङको रंगेली नगरपालिका–७ का सक्रिय युवा र विद्यार्थी अमित कुमार मण्डलले सामाजिक सञ्जालमार्फत स्थानीय सरकारमा पुगेर जनसेवामा समर्पित हुने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले युवाको उर्जा र जनताको विश्वासका साथ वडाको समग्र विकासका लागि इमानदार र पारदर्शी ढंगले काम गर्ने अठोट सार्वजनिक गरेका छन्।
मण्डलले आफ्नो प्राथमिकता किसानमाथि केन्द्रित रहने स्पष्ट पार्दै भनेका छन् — “यदि वडासदस्यको जिम्मेवारी पाउने अवसर पाएँ भने, वडाका किसानहरूको विस्तृत तथ्याङ्क संकलन गरी, उनीहरूको वास्तविक अवस्था बुझ्ने, कृषि भण्डार र औजार केन्द्र स्थापना गर्ने, किसान कार्ड वितरण र भत्ता कार्यक्रमलाई प्रभावकारी बनाउने एजेन्डा अघि बढाउनेछु।”
उनले जनसेवामा इमानदारी, पारदर्शिता र जवाफदेहितालाई आफ्नो मूल सिद्धान्त बताउँदै युवालाई समाजपरिवर्तनको प्रमुख शक्ति भनेका छन्।
मण्डलको यस्तो सकारात्मक सोच र स्पष्ट कार्ययोजनाले वडावासीहरूमा नयाँ आशा जगाएको छ।
स्थानीय राजनीतिको वृतमा पनि उनको किसानमुखी दृष्टिकोण र जनउत्तरदायी प्रतिबद्धता प्रशंसा गरिएको छ।