इलाममा ७४ वर्षीय वृद्धमा कोरोना संक्रमण, देशभर संक्रमितको संख्या १६० पुग्यो

विराटनगर। इलामको रोङ गाउँपालिकामा एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। गाउँपालिकाको वडा नम्बर ४ निवासी ७४ वर्षीय वृद्धमा संक्रमण देखिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानका अनुसार वृद्धमा ज्वरो र रुघाखोकी जस्ता लक्षण देखिएपछि झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो। परीक्षणको क्रममा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

घटनाबारे जिल्ला स्वास्थ्य कार्यालय इलामलाई जानकारी गराइसकिएको गाउँपालिकाले जनाएको छ। संक्रमित वृद्धलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।

यससँगै नेपालभर हालसम्म कोरोना संक्रमितको कुल संख्या १६० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ५ संक्रमित

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो सात दिनमा ३० जनामा संक्रमण देखिएको छ।

उनका अनुसार पुस १७ गतेयता देशभर १६० जना संक्रमित भइसकेका छन्। प्रदेशगत विवरण अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिएका छन्। यस्तै सुदूरपश्चिम प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा समान ३–३ जना संक्रमित भेटिएका छन्।

सीमावर्ती नाकाहरुमा कोरोना परीक्षणलाई तीव्र बनाइएको छ। निर्देशक डा. झाका अनुसार हालसम्म ६४० थान एन्टिजेन किट सीमा नाकाहरुमा परीक्षणका लागि पठाइएको छ।

सरकारले विशेष सावधानी अपनाउन र लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ।