एम्बुलेन्सबाट गाँजा तस्करी : दुई जना पक्राउ

२०  कार्तिक विराटनगर,
मोरङको जहदा गाउँपालिका–३ हातिबन्दाबाट प्रहरीले एम्बुलेन्समार्फत अवैध लागुऔषध गाँजा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा प्र.स.नि. जोगेन्द्र कुमार साहको नेतृत्वमा खटिएको टोलीले स१च ६५६ नम्बरको एम्बुलेन्स रोकेर जाँच गर्दा झोलामा लुकाइछिपाई राखिएको ३३.६१० केजी गाँजा फेला पारेको हो।
उक्त एम्बुलेन्समा “नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा सुखीपुर–१०, सिरहा” लेखिएको थियो।
प्रहरीले एम्बुलेन्स चालक विराटनगर–५ कोचाखल निवासी ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई स्कर्टिङ गर्दै आएको को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ हातिबन्दा निवासी ३२ वर्षीय दिलीप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बरामद गरिएको एम्बुलेन्स, मोटरसाइकल र गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।
रानी प्रहरी चौकीबाट घटनास्थल करिब ७ किलोमिटर उत्तर–पूर्वमा रहेको बताइएको छ।