
काठमाडौं। शिक्षा ऐन आउनेमा अन्योल बढिरहेका बेला नेपाल शिक्षक महासंघ प्रतिनिधिसभाबाट विधेयक पारित गराउन दौडधुप गरिरहेको छ।

महासंघका प्रतिनिधिले विभिन्न राजनीतिक दलका नेता, सांसदहरु एवं संसदीय दलका नेताहरु एवं संसदीय समितिका प्रतिनिधिसँग भेट गरी विधेयक पारित गर्नका लागि आग्रह गरिरहेका छन्।
यसै क्रममा बिहीबार महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी सहितको टोलीले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भेटघाट गरेको छ।
भेटका क्रममा विगतमा सरकार र महासंघबीच भएका सहमति समावेश गरी विद्यालय शिक्षा विधेयक समितिबाट अघि बढाउनेबारे बुँदागत छलफल भएको महासंघ अध्यक्ष सुवेदीले बताए। ‘छलफल विस्तृत र सकारात्मक भएको छ’ उनले भने।
छलफलमा कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, प्रतिनिधिसभा अन्तर्गत शिक्षा समिति सदस्य लीला बोखिम लगायत सहभागी थिए।
कांगेस संसदीय दलका सचेतक श्यामकुमार घिमिरेले संयोजन गरेको भेटवार्तामा अध्यक्ष सुवेदीले महासंघको तर्फबाट विषयवस्तु प्रस्तुत गरेका थिए।
यस्तै, बिहीबारै महासंघ टोलीले नेपाली कांग्रेसका उपसभापति एवं सांसद पूर्णबहादुर खड्कासँग भेटघाट गरी विद्यालय शिक्षा विधेयक र समसामयिक विषयमा छलफल गरेको थियो।
उक्त विधेयकमाथि छलफल गरी संसदीय उपसमितिले समितिमा प्रतिवेदन बुझाएको छ। प्रतिवेदनले आफूहरुमाथि अन्याय गर्ने किसिमका बुँदाहरु राखेको र सहमतिविपरीत विषयवस्तु प्रस्तुत गरेको भन्दै महासंघले असन्तुष्टि जनाउँदै आएको छ।
यसबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले महासंघका प्रतिनिधिसँग छलफल गर्दै आएका छन्। मन्त्रालयका तर्फबाट यसअघि विधेयकका सम्बन्धमा २७ बुँदे धारणा सार्वजनिक भएको थियो। त्यसपछि फेरि ३३ बुँदे धारणा मन्त्रालयले अघि सारेको थियो।
शिक्षकहरुले गरेको लामो आन्दोलनपछि सरकारले असार २० गतेभित्र शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको थियो। संसदीय समितिमा छलफल सकिएर संसदमा विधेयक पुग्नु पर्नेमा ढिलाइ भइरहेको छ।
यस्तो अवस्थामा निर्धारित समयमा विधेयक पारित नहुने हो कि भन्ने संशय उत्पन्न भएको छ। यही परिस्थितिका बीच महासंघले विधेयक पारित गर्न दबाबस्वरुप भेटवार्ता गरिरहेको हो।