मधेसका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

२२ कार्तिक बिराटनगर  – मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) आज विश्वासको मत लिँदैछन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभामा आज दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री सोनल विश्वासको मत लिन लागेका हुन् ।

अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट सतिशकुमार सिंहले राजीनामा दिएपछि पाँच दलको ५६ जना प्रदेशसभाको समर्थनमा सोनल गत कार्तिक २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान गर्दा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्न पाँच दलले दावी पेश गरेका थिए ।

सोनललाई मुख्यमन्त्री बनाउन उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दावी पेश गरेका थिए ।

सरकारमा दावी गर्ने समय पाँच दल रहेपनि अहिले सोनलको नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ ।

दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मत पर्ने देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा कायम छन् । सोनल नेतृत्वको सरकारले विश्वासको मत पाउनका लागि प्रदेशसभामा हाल कायम रहेको सदस्यको बहुमत सदस्यको समर्थनको आवश्यकता पर्छ ।

सरकारमा सहभागि रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकिकृत समाजवादी पार्टीका ७ जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभा सदस्य रहेको छ ।

गठबन्धनको कार्तिक १२ गते बसेको बैठकले सरकारभन्दा बाहिर रहेको सबैभन्दा ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेससँग समेत विश्वासको मत माग्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री सोनलले नियुक्त भएको दोस्रो दिन असोज ३० गते दुई जनालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेपनि उनीहरुलाई जिम्मेवारी दिएका छैनन् भने विश्वासको मत पाइसकेपछि मन्त्रीपरिषद् विस्तार गर्ने उनको तयारी छ ।