
विराटनगर । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–७, माथिल्लो साल्मेमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना भएको छ।

सिद्धिचरण लोकमार्गमा बिहान करिब ४ बजेतिर सल्लेरीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५५८२ नम्बरको उग्रचण्डी यातायातको बस अनियन्त्रित भइ सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजित कुँवरले जानकारी दिए।
बसमा चालक, सहचालकसहित तीन जना कर्मचारी र चार जना अन्य सवार थिए। दुर्घटनामा सिन्धुली फिक्कल गाउँपालिका–२ का ३२ वर्षीय चालक होमबहादुर लुङ्गेली र रामेछाप लिखु गाउँपालिका–७ का ३१ वर्षीय ताराबहादुर बुढाथोकी घाइते भएका छन्।
घाइतेहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। अन्य पाँच जना सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।