‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुल्ला

विराटनगर । ‘मिस नेपाल पिस २०२५’ को खोजी सुरु भएको छ। आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला गरिएको जानकारी गराएको हो। प्रतियोगितामा १७ देखि २८ वर्ष उमेर समूहका नर्स तथा नर्सिङ अध्ययनरत युवतीहरूले भाग लिन सक्नेछन्। इच्छुक सहभागीहरूले ‘खल्ती’ एपमार्फत आवेदन दिन सक्नेछन्।

सौन्दर्य तथा व्यक्तित्व विकाससँगै स्वास्थ्य क्षेत्रसँग जोडिएको सामाजिक उद्देश्य बोकेको यो प्रतियोगिता ‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको छ। आयोजकका अनुसार यो प्रतियोगिता नर्सिङ पेशासँग सम्बन्धित नेपालकै एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो।

प्रतियोगितामा छानिएका शीर्ष तीन विजेताले नगद १ लाखका साथै अन्तर्राष्ट्रिय स्तरमा हुने ‘मिस वल्र्ल पिस’, ‘मिस ग्लोबल’ र ‘मिस प्लानेट इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। साथै ५ लाख रुपैयाँ बराबरको विभिन्न उपहारहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ।

देशभरका करिब चार दर्जन नर्सिङ कलेज र सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताको छनोट चरणमा अडिसनमार्फत प्रतिस्पर्धीहरू छानिनेछन् र अन्तिम चरणको लागि विशेष प्रशिक्षण दिइनेछ। प्रतियोगीहरूलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, नेतृत्व क्षमता, ड्रेस सेन्स, सार्वजनिक बोल्ने कला, करियर काउन्सिलिङ लगायतका क्षेत्रमा प्रशिक्षण दिइने बताइएको छ।

आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले नर्सिङ क्षेत्रमा आबद्ध महिलाहरूलाई पेशागत दक्षतासँगै समाजप्रतिको उत्तरदायित्व थप बोध गराउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको जानकारी दिए।

त्यसैगरी, संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेका अनुसार प्रतियोगितामा विभिन्न उपविधा समेत समावेश गरिएको छ, जसमा आधा दर्जन उपविजेता छानिने छन्।