बिजुली काटिएका २१ उद्योगले बक्यौता रकमको पहिलो किस्ता बुझाए

काठमाण्डौ ।  लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका केही उद्योगहरूले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन काटेका २५ मध्ये अहिलेसम्म २१ वटा उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन् ।

ती उद्योगको कुल चार अर्ब ९४ करोड ३० लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ताबापत १७ करोड ४६ लाख रुपैयाँ बुझाएका छन् । सबैभन्दा धेरै बक्यौता बुझाउँनेमा जगदम्बा स्टिल कम्पनीले हिजो मात्रै पाँच करोड ७२ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट लगायतले पहिलो किस्ता तिरेका छन् ।

विद्युत महसुल भुक्तानीका लागि प्राधिकरणले उद्योगीहरूलाई किस्ताबन्दी सुविधा उपलब्ध गराएको थियो । त्यही सुविधाअनुसार उद्योगहरूले बाँकी रकम किस्ताबन्दीमा तिर्ने सहमति जनाएका हुन् । प्राधिकरणका अनुसार, विद्युत महसुल असुलीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले उद्योग क्षेत्रसँग निरन्तर समन्वय समेत भइरहेको छ ।

बक्यौता रकम असुलीमा सकारात्मक प्रगति देखिएको र बाँकी उद्योगहरूलाई पनि तत्काल भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह गरिएको प्राधिकरणको भनाइ छ । नेपाल विद्युत प्राधिकरणले बक्यौता असुली अभियानलाई तीव्र बनाउँदै आउँदो महिना दोस्रो किस्ता तिर्ने तयारी गर्न उद्योगहरूलाई समयसीमा तोकेको छ ।