काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार सचिवालय बैठक बोलाएको छ । बैठक काठमाडौँमा हुनेछ । बैठकमा मधेश प्रदेश सरकारमा देखिएको राजनीतिक घटनाक्रम, पार्टीका आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
सचिवालय बैठकपछि मंसिर ३ र ४ गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक हुने उपाध्यक्ष विद्युत् वज्राचार्यले बताए । बैठकमा फागुन २१ को निर्वाचन, पार्टीको भूमिका, विचार मिल्ने पार्टीहरुसँग छलफल, सहकार्य र एकताका पक्षमा छलफल हुने उपाध्यक्ष वज्राचार्यले बताए ।
पार्टीले कात्तिक १९ र २० गते बैठक बसेर विधान संशोधन गरेर एक उपाध्यक्ष, एक महासचिव र केही कार्यकारिणी सदस्यहरुको पनि व्यवस्थापन गर्ने निर्णग गरिसकेको छ । यसक्रममा पदाधिकारी र कार्यकारिणीमा आकांक्षीहरुसँग छलफल गरेर सर्वसम्मत हिसाबले नेतृत्वमा ल्याउने पार्टीको तयारी छ ।
यस्तै, पार्टीले विचार मिल्ने पार्टीहरुसँग छलफल पनि गरिरहेको छ । तत्कालको अवस्थामा विभाजन भएर गएको अशोक राई नेतृत्वको पार्टी जसपा र मधेशमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकता या सहकार्यबारे छलफल हुन सकेको छैन । रेशम चौधरी नेतृत्वको पार्टीसँग छलफलको वातावरण बनेको छैन । भर्खरै चौधरीको पार्टी दर्ता भएकाले वार्ताको प्रयासमा पार्टी लाग्ने बताइएको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालले पार्टी प्रवेश गरेका पाँच नेताहरुलाइ केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
सिरहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रुपन्देहीकी विद्या यादव र धनुषाका विमल साह केन्द्रीय सदस्य मनोनीत भएका हुन्।
पार्टीले सल्लाहकार समितिका अध्यक्षमा प्राडा रामस्वारथ यादवलाई मनोनयन गरेको छ । खड्गनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्रप्रकाश महतो र मनोज साह केन्द्रीय सल्लाहकार परिषद्मा थपिएका छन् ।