काठमाण्डौ । मधेश प्रदेशसभाकी उपसभामुख बबिताकुमारी राउत ईशरले पाँच जना प्रदेशसभा सदस्यमाथिको कारबाही बदर गर्नुभएको छ । सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेको सूचना निकालेपछि उपसभामुखले त्यसको विरोध गर्दै बदर गर्नुभएको हो । उहाँले सूचना निकालेर पदमुक्त भएका भनिएका पाँच जना प्रदेशसभा सदस्यको कारबाही बदर भएको जानकारी गराउनुभएको छ ।
सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै हिजो नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन कलवार र शारदा शङ्कर प्रसाद कलवारको पद रिक्त भएको सूचना निकाल्नु भएको थियो । तर उपसभामुख बबिताकुमारीले पाँच जना सांसदहरु कात्तिक २२ गतेको बैठकमा उपस्थित भएको भन्दै उनीहरुमाथिको कारबाही बदर भएको उल्लेख गर्नुभएको छ ।
यसअघि कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत प्रदेशसभामा संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, एक दलको निर्देशनबमोजिम समाभुखले पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा चलाएको भन्दै सात दलले सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।