
विराटनगर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको अन्तिम तथा निर्णायक खेलमा आज आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।

त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण रहेको छ। सिरिजको उपाधि जित्न दुबै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ। नेपालले सिरिजमा अहिलेसम्म ३ खेल खेलेको छ जसमा २ खेलमा विजयी हुँदै ४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। यदि नेपालले आजको खेल जिते सिरिज पनि आफ्नो नाममा पार्नेछ।
स्कटल्यान्ड ३ खेल खेल्दै १ खेलमा मात्र विजयी रहँदा २ अंक जोडेको छ र तालिकाको पुछारमा रहेको छ। आजको खेल जिते स्कटल्यान्डले पनि उपाधि हात पार्ने सम्भावना कायम राख्नेछ।
यता सिरिजको अर्को टोली नेदरल्यान्ड्स ४ खेल खेल्दै ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो। त्यसपछि दोस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई २ विकेटले र तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो।
नेपालका लागि आजको खेल ऐतिहासिक बन्न सक्नेछ, किनभने जितसँगै टोलीले स्कटल्यान्डको घरेलु मैदानमै उपाधि उचाल्ने अवसर पाउनेछ।