२९ कार्तिक बिराटनगर
सत्यनारायण मन्दिर विराटनगरले दुई तल्ले आधुनिक तथा सुविधा सम्पन्न सत्संग भवन निर्माण सम्पन्न गरेको छ। मन्दिरकै जग्गामा, मेन रोडस्थित अतिथि सदनअगाडि निर्माण गरिएको यो भवन शनिबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो।
मन्दिरका अध्यक्ष उद्योगी अविनाश बोहोराका अनुसार १ सय १५ जना दाताहरूको सहयोगमा करिब १ करोड १६ लाख रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको हो। भवन निर्माणका लागि विराटनगरका उद्योगी तथा व्यवसायीहरूले न्यूनतम ३१ हजारदेखि अधिकतम ६ लाख रुपैयाँसम्म आर्थिक सहयोग गरेका थिए।
सहयोगकर्तामध्ये रामकिशन राठी, जयकिशन राठी र युगलकिशोर राठीले सबैभन्दा बढी ६–६ लाख रुपैयाँ प्रदान गरेका थिए।
नवनिर्मित सत्संग भवनको उद्घाटन जगदगुरु बालसन्त मोहन शरण उपाध्यायले गरेका हुन्। उक्त समारोहमा मन्दिरका अध्यक्ष अविनाश बोहरा, संरक्षक मण्डलका अध्यक्ष शंकरलाल अग्रवाल, सत्संग भवन निर्माण समितिका संयोजक रामअवतार अग्रवाल तथा मन्दिरका सचिव राजेन्द्र करवालको विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी, भवन निर्माणमा सहयोग गर्ने दाताहरूप्रति सम्मान तथा आभार व्यक्त गर्न आयोजित समारोहमा मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, महासचिव घनश्याम राठी, उद्योगी एवं समाजसेवी सुरेशकुमार शर्मा, ताराचन्द खेतान, बेनिगोपाल मुन्दडा, चम्पालाल राठी, नन्दकिशोर राठी लगायत समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी भएका थिए।