एभरेष्ट स्कुलमा असल प्यारेन्टिङसम्बन्धी अभिभावक कक्षा

२९ कार्तिक बिराटनगर

एभरेष्ट सेकेन्डरी स्कुल, विराटनगर–५ ले असल अभिभावकत्व (प्यारेन्टिङ) सम्बन्धी निरन्तर आयोजना गर्दै आएको प्रशिक्षण श्रृंखलाअन्तर्गत आज कक्षा ९ र १० का विद्यार्थीका अभिभावकहरूलाई लक्षित गरी विशेष कक्षा सञ्चालन गरेको छ। विद्यालयले शुक्रबार कक्षा ७ र ८ का अभिभावकका लागि पनि उस्तै कार्यक्रम सम्पन्न गरेको थियो।
यो कक्षा प्रसिद्ध उत्प्रेरक प्रितम पौड्यालले सञ्चालन गरेका हुन्। करिब तीन सय अभिभावकको सहभागिता रहेको कार्यक्रममा उनले बालबालिकाको मनोभाव बुझ्ने तरिका, उनीहरूसँग व्यवहार गर्ने शैली, उनीहरूका प्रयास र सफलताले मस्तिष्कमा पार्ने प्रभाव जस्ता महत्वपूर्ण विषयहरूमा मार्गदर्शन प्रदान गरे।
पौड्यालका अनुसार, “हरेक बालक–बालिकाको आफ्नै क्षमता हुन्छ, त्यसैले उनीहरूको स्वभाव अनुरूप शैक्षिक ज्ञान र सामाजिक संस्कार विकास गर्न अभिभावक सजग हुनुपर्छ।”
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले शैक्षिक गुणस्तर सुधारका लागि चालेका कदमबारे अभिभावकलाई जानकारी गराए। उनले विराटनगरमै बसेर विश्वस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयले अपनाइरहेको पद्धति, प्रणाली र सुधारका योजनाबारे अवगत गराउँदै अभिभावकसमेत सोही अनुकूल भूमिकामा रहन आग्रह गरे।
पुरीले भने, “हामीका विद्यार्थीहरू शिक्षित मात्र नभई असल नागरिक बन्न सकून् भन्ने हाम्रो चाहना हो।”
त्यसैगरी, विद्यालयका भाइस प्रिन्सिपल टी.एन. भण्डारीले विद्यालयको संरचना, अवलम्बन गरिएका शैक्षिक प्रणाली तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँग भइरहेको सहकार्यबारे विस्तृत जानकारी दिए।
अन्तरक्रियात्मक कक्षामा अभिभावकहरूले बालबालिकाको बढ्दो ग्याजेट प्रयोग, पढाइमा देखिने अनिहुँसोच जस्ता समस्या कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जिज्ञासा राखेका थिए।
कार्यक्रममा सहभागी अभिभावक गोकर्ण सेढाईले सामान्य व्यवहारका साना कमी–कमजोरीले पनि बालबालिकामा दीर्घकालीन असर पार्न सक्ने भएकाले यस्तो कक्षाले आफूलाई धेरै उपयोगी ज्ञान दिएको प्रतिक्रिया व्यक्त गरे।
एभरेष्ट स्कुलले हरेक वर्ष विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई लक्षित गरी उत्प्रेरक तथा विकासमूलक कक्षाहरू आयोजना गर्दै आएको छ। विद्यालयका अनुसार, यस्ता कार्यक्रमले मानव जीवनलाई प्रत्यक्ष प्रभावित गर्ने, ऊर्जा प्रदान गर्ने र शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ।
अत्याधुनिक भौतिक पूर्वाधारमा सञ्चालन हुँदै आएको एभरेष्टले अन्तर्राष्ट्रिय स्तरमा विद्यार्थीहरूको सहभागिता बढाउन विविध निकायहरूसँग सहकार्य विस्तार गरिरहेको जनाएको छ।