भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाको विरोध कायमै, बैठकबाट बाहिरिए

विराटनगर। भिजिट भिसा प्रकरणका विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विरोध जारी राख्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधि सभा बैठकबाट पनि बाहिरिने निर्णय गरेका छन्।

शुक्रबार बसेको बैठक सुरु हुने बित्तिकै दुवै पार्टीका सांसदहरूले गृहमन्त्रीको राजीनामा र घटनाको छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै आपत्ति जनाए। तर सभामुख देवराज घिमिरेले दुवै दलको विरोधका बीच बैठक सञ्चालन अघि बढाएपछि उनीहरू बैठक कक्षबाट बाहिरिएका हुन्।

भिजिट भिसा अनियमितता प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका थिए। तर सभामुख घिमिरेले बैठक कार्यसूची अनुसार सञ्चालन गर्ने अडान कायमै राख्दै बैठक अघि बढाइरहेका छन्।

रास्वपा र राप्रपाका सांसदहरूले सरकारले छानबिनको माग बेवास्ता गर्दै बैठक चलाउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन समिति गठन आवश्यक रहेको बताएका छन्।

सभामुख घिमिरेले भने संसद सञ्चालन गर्न बैठक नियमित रुपमा अघि बढाउने बताएका छन्।