
विराटनगर।बाढी र पहिरोको जोखिम बढेका कारण बीपी राजमार्गमा १५ दिनसम्म रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।

काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो। समितिले राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डसम्म रातिको समयमा सवारी नचलाउने निर्णय गरेको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सबै सवारी साधन चलाउन नपाउने व्यवस्था गरिएको हो।
समितिले काठमाडौंबाट पूर्वतर्फ जाने सवारी काभ्रेभञ्ज्याङमा र पूर्वबाट काठमाडौं आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोक्ने निर्णय गरेको छ।
गत असोज महिनामा आएको बाढीपहिरोले बीपी राजमार्गको विभिन्न भागमा क्षति पुर्याएको थियो। वर्षायाम सुरु भएसँगै पहिरोको जोखिम कायमै रहेकाले सावधानीस्वरूप यस्तो निर्णय लिइएको सुरक्षा समितिको भनाइ छ।
सम्बन्धित निकायहरूले राजमार्ग मर्मत सम्भारमा ढिलाइ गरेकाले जोखिम अझै यथावत् रहेको जनाइएको छ।