काठमाण्डौ । बाराको सिमरामा गएको बुधवार र बिहिवार भएको घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासनबीच सहमति भएको छ । बाराको पथलैयामा रहेको सशस्त्र प्रहरी बल नेपालको प्राविधिक तालिम शिक्षालयमा हिजो भएको वार्तामा सिमरामा उत्पन्न द्वन्द्व व्यवस्थापन गर्ने सहमति जुटेको हो ।
वार्तामा जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्नेजस्ता तीन वटा विषयलाई सम्बोधन गर्ने कुरामा दुवै पक्षबीच सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
वार्तामा सहभागी जेनजीका अगुवाले आफूहरूमाथि धम्की आएको भन्दै सुरक्षाको ‘ग्यारेण्टी’ हुनुपर्ने माग राखेका थिए । प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख र जेनजीको तर्फबाट अभियन्ता सुदन गुरुङ, पुरुषोत्तम यादव, बाराका अध्यक्ष सम्राट उपाध्यायसहित जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलको सहभागिता थियो ।
जेनजीहरूको उजुरीका आधारमा स्थानीय प्रशासनले तीन जनालाई पक्राउ लिएर अनुसन्धान गरिरहेको छ । बुधवार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि बारा अशान्त बनेको थियो । स्थिति सामान्य बनाउन लगाइएको कर्फ्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधवार र बिहिवार दिनभरि वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।