काठमाण्डाै । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)ले पहिलो लटमा छपाइ गरेका चालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई बुझाएको छ । क्यूआर कोडसहितको लाइसेन्सको परीक्षण सफल भएसँगै केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभागको सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई ती लाइसेन्स हस्तान्तरण गर्नुभएको हो ।
पहिलो चरणमा केन्द्रले पाँच सय २० थान लाइसेन्स हस्तान्तरण गरेको छ । दोस्रो चरणको झन्डै एक हजार दुई हजार आवेदकको तथ्याङ्क केन्द्रलाई प्राप्त भएको र छपाइ निरन्तर भइरहेको कार्यकारी निर्देशक ढुङ्गानाले बताउनुभयो । उहाँले छापिएका नयाँ लाइसेन्सको गुणस्तर परीक्षण गरेर विभागलाई उपलब्ध गराइएको पनि बताउनुभयो ।
नेपालकै ल्याबमा गरेको परीक्षण सफल भएपछि विभागलाई बुझाइएको हो । यातायात व्यवस्था विभागका निर्देशक खतिवडाले मुद्रण केन्द्रबाट लाइसेन्स प्राप्त भएसँगै ठूलो समस्या समाधान हुने अवस्था बनेको बताउनुभएको छ ।
विगत दश वर्षदेखि लाइसेन्स प्रिन्ट समयमा हुन नसकेका कारण समस्या भोगिरहनुपरेको छ । पछिल्लोपटक लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गएको कात्तिक १२ मा सम्झौता भएको थियो । जसअनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ । काभ्रेको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको भवनमा गएको कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ शुरु भएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गर्नुभएको थियो । केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले विभागसँगको सम्झौताअनुसार शुरुको तीन महिना एक लाखका दरले तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी १२ लाख लाइसेन्स छपाइ गरिने बताउनुभयो ।