विराटनगर भन्सारमा कार्तिकमा लक्ष्यभन्दा कम राजस्व, जेन जी आन्दोलन र बिहार चुनाव मुख्य कारण

— विराटनगर भन्सार कार्यालयमा कार्तिक महिनामा राजस्व संकलन लक्ष्यभन्दा निकै कम भएको छ। कार्यालयका अनुसार कार्तिकमा १ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्यको मात्र ५५.६६ प्रतिशत हो। यस महिनामा ३ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। कार्यालयका सूचना अधिकारी विमलकुमार साहका अनुसार भदौअन्त्यदेखि जारी जेन जी आन्दोलन र भारतको बिहार विधान सभा निर्वाचनका क्रममा चार दिन सीमा बन्द हुँदा भन्सारको कारोबार प्रभावित भएको हो। यसअघि साउन, भदौ र असोज महिनामा भने कार्यालयले करिब ८० प्रतिशत हाराहारी राजस्व संकलन गरेको थियो। साउनमा २ अर्ब ६४ करोड १८ लाख, भदौमा २ अर्ब ८० करोड ११ लाख र असोजमा २ अर्ब ८७ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। सूचना अधिकारी साहका अनुसार चाडपर्व, निर्वाचन तथा आन्दोलनका कारण आयात गतिविधि घटेपछि राजस्वमा कमी आएको हो। अवस्थाहरू सामान्य भए मंसिरदेखि संकलनमा सुधार हुने अपेक्षा राखिएको छ।