विराटनगर:
त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सम्पन्न भएको राम–सीताको दैवी विवाहको स्मृतिमा आज जनकपुरधाममा विवाह पञ्चमी महोत्सव भव्य रूपमा मनाइँदैछ। मिथिलाको सांस्कृतिक पहिचान बोकेको यस पर्वमा नेपाल–भारतका ठूलो संख्यामा भक्तजन बिहानैदेखि सहभागी भइरहेका छन्।
गोस्वामी तुलसीदासद्वारा वर्णित कथाअनुसार राजा जनकले राखेको स्वयंवरमा रामले शिवधनुष भाँचेर सीताको वरण गरेकै दिनको रूपमा यो पर्व मनाइन्छ। मिथिलावासीका लागि सीता छोरी–बहिनी समान भएकाले प्रतिछाया जन्तीको स्वागतदेखि विवाह संस्कारसम्म उनीहरू हर्षोल्लाससहित संलग्न हुने प्रचलन आज पनि जीवित छ।महोत्सवमा मटकोर, तिलकोत्सव, स्वयंवर र वैवाहिक विधि मिथिलेली रीतिअनुसार प्रस्तुत गरिँदैछ। राम मन्दिरबाट सिंहासनमा राखिएको रामको प्रतिमा र जानकी मन्दिरबाट विशेष साजसज्जासहितको सीताको डोला रङ्गभूमि मैदानमा ल्याइएपछि प्रतीकात्मक परीक्षण र स्वयंवर सम्पन्न गरिन्छ। त्यसपछि दुवैको विवाह पुनः जानकी मन्दिरमै संस्कारसहित गरिन्छ।रङ्गभूमिमा झाँकी, भजन–कीर्तन, रामलीला र हाँसो–ठट्टाले वातावरण वास्तविक विवाहझैँ जीवन्त बनेको छ। भक्तजन स्नान–पूजा, दर्शन तथा धार्मिक अनुष्ठानमा तल्लीन देखिन्छन्।पहिले एक महिनासम्म चल्ने यो पर्व अहिले चार दिनमा सीमित भए पनि भव्यता, भीड र भक्तिको आवेगमा कुनै कमी देखिएको छैन।