बस र विद्युतीय माइक्रो बस आपसमा ठोकिँदा ७ जनाको मृत्यु

विराटनगर। धनगढीबाट झापाको काँकडभिट्टाका लागि आइरहेको बस र विद्युतीय माइक्रो बस शनिबार बिहान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

चितवनको राप्ती नगरपालिकाको भण्डारा नजिक खहरे पुलमा ती दुई साधन आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रोबस ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा १८ जना घाइते भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए। घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

मृतकहरुमध्ये मकवानपुर हटिया–३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका–५ की ५३ वर्षीया मैयाकुमारी न्यौपानेको मात्रै पहिचान खुलेको उनको भनाई छ। शव भरतपुर अस्पतालको शव गृहमा राखिएको चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए।