इटालीमा नारीहत्यालाई जघन्य अपराध बनाउने विधेयक पारित

इटाली । इटालीको संसद्ले ‘फेमिसाइड’ अर्थात् नारीहत्यालाई जघन्य अपराध बनाउने विधेयक पारित गरेको छ । यस विधेयकमा महिला हत्याको घटनामा आजीवन कारावासको प्रावधान राखिएको बीबीसीले जनाएको छ ।

यो विधेयक हिजो अर्थात् नोभेम्बर २५ मा पारित भएको थियो, यस दिन महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । दिवसकै दिन विधेयक पारित हुनुलाई प्रतीकात्मक कदमका रूपमा पनि हेरिएको छ ।

इटालीमा नारीहत्याविरुद्ध कानून बनाउने बारेमा छलफल हुँदै आएको थियो, तर दुई वर्षअघि भएको एक हत्याले सरकारलाई यस दिशामा छिटो निर्णय लिन बाध्य बनायो ।

सन् २०२३ को नोभेम्बर अन्त्यतिर २२ वर्षीया जुलियालाई उनका पूर्वप्रेमी फिलिपो टुरेटाले छुरा प्रहार गरी हत्या गरेर तालको किनारमा फ्याँकिदिएका थिए । यो घटनाले सरकारमाथि दबाव बढेको थियो ।

अहिले नयाँ विधेयक पारित भएसँगै इटाली नारीहत्यालाई छुट्टै अपराधको श्रेणीमा राख्ने देशहको समूहमा सामेल भएको छ ।