सुनवर्षीमा मकै बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना, सह–चालक घाइते

सुनवर्षी ।सुनवर्षी नगरपालिका–७ विश्वकर्मा चोकस्थित भित्री सडक खण्डमा मकै बोकेको ट्याक्टर अनियन्त्रित भई पल्टिएको छ ।

सिक्टीबाट रंगेली तर्फ गइरहेको को.१ त.७८४२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक सुनवर्षी नगरपालिका–७ निवासी अन्दाजी ४० वर्षीय बाबुराम यादव सकुशल रहेका छन् ।

तर सोही ट्याक्टरका सह–चालक सुनवर्षी–७ का अन्दाजी ४५ वर्षीय सुकदेव ठाकुर घाइते भएका छन् । उनको अनुहार र ओठमा काटिएको छ भने टाउकोमा चोट लागेको छ । प्रारम्भिक उपचारका लागि उनलाई रंगेली अस्पताल लगिएको थियो । टाउकोमा चोट देखिएकाले थप उपचार तथा सिटि स्क्यानका लागि कोशी अस्पताल, विराटनगर पठाइएको प्रहरीले जनाएको छ । हाल उनको अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटनामा परेको ट्याक्टर प्रहरी चौकी झपडतलको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।